अलिकता विगतको कुरा गरूँ

(दोस्रो संस्करणको भूमिका)

आँधी–तुफान २०४४ साल चैत महिनामा प्रकाशित भएको थियो । सानो साइजको पकेट डायरीको साइजमा प्रकाशित यस सङ्ग्रहमा जम्मा तेइस थान मुक्तक समावेश थिए, जसको मूल्य एक रूपियाँ राखिएको थियो । थाहा छैन मभित्र कुन त्यस्तो हुटहुटीले काम गरेको थियो जसले रचना तयार हुँदानहुँदै प्रकाशन गर्ने हतारो हुन्थ्यो । डेढवर्ष पहिले मात्र विद्रोहको छाल प्रकाशित भएको थियो । मैले फेरि आँधी–तुफान प्रकाशित गरेको थिएँ ।

मसँग कुनै सुस्पष्ट योजना थिएन । कहिले नोकरी खान्थेँ, कहिले संगठनको काम गर्थें र कहिले साहित्यिक कार्यक्रमहरू चलाउँथे । मभित्र अस्थिरता थियो । म कुनै पनि काम नापेर तौलेर गर्दिनथेँ । गर्ने भनेपछि लागिहाल्ने स्वभावले गर्दा म अलि बढी प्रयोग हुन्थेँ । पार्टी संगठनका अप्ठ्यारा काम, सडक सङ्घर्ष र संगठनको काममा अगाडि हुन्थेँ । बयालिस सालको बमकाण्डको संस्मरण लेख्न बाँकी नै छ । त्यतिखेर इन्द्रचोक, असन, रन्जनागल्ली र पाटन ढोकाको अशोक सिनेमाहलबाहिर निस्किने छड्के जुलुसमा पुग्नु, पर्चा छर्नु र नारा लगाउनु अनिवार्य काम जस्तै हुन्थ्यो ।

हामी सडक सङ्घर्षमा मात्र हैन साहित्यिक गतिविधिमा पनि खटेका हुन्थ्यौँ । त्यतिखेर हामीले साहित्य यात्रा नामक साहित्यिक कार्यक्रम चलाएका थियौँ । उक्त कार्यक्रम नेकपा मसाल समर्थित कविसाहित्यकारको मासिक कार्यक्रम थियो । यो कार्यक्रम २०४४ वैशाखमा सुरु भएर करिब दुई वर्ष चल्यो । मसाल पार्टी समर्थित कविलेखक पनि प्रतिभा प्रवाहमा सहभागी हुने भएपछि यो यात्रा रोकिएको थियो ।

पद्योदय विद्यालयको विस्तार केन्द्रमा हुने उक्त मासिक कार्यक्रम मेरो अगुवाइमा हुन्थ्यो । हामी अरूका कार्यक्रममा खासै जान्नथ्यौँ । कविता लेख्नु र यस्तै कार्यक्रममा सुनाउनु नै हाम्रो साहित्यिक आन्दोलन थियो । देवेन्द्र पौडेल, हुकुम बहादुर सिंह, टेकनाथ नेउपाने, रत्ननिधि रेग्मी, कमला हिमचुली लगायत कवि लेखकहरूको अभियानका सक्रिय सदस्य थिए ।

२०४४ को माघमा गुल्मी स्ववियूको प्रकाशनमा ‘गोरेटो’ प्रकाशन भयो । यसको आर्थिक र वितरणको काम गुल्मी स्ववियूले गर्ने भएता पनि प्रकाशनको काम हामीले गथ्र्यौं । यही अङ्कमा मेरो पहिलो फुटकर कविता प्रकाशित भएको थियो । यो समसामयिक साहित्यिक पत्रिका थियो ।  केही अङ्क प्रकाशित भएपछि बन्द भयो ।

२०४५ सालबाट हलकारा साहित्यिक त्रैमासिक पुनः प्रकाशित हुन थालेको थियो । म यस पत्रिकामा सह–सम्पादकको भूमिकामा रहेर काम गरेको थिएँ । मसालको विचारप्रधान पत्रिकाको रूपमा ‘झिल्को‘ निस्किन्थ्यो भने साहित्यिक मुखपत्रको रूपमा हलकारा निस्किन्थ्यो । दुई वर्ष निस्किएर यो पत्रिका पनि बन्द भयो ।

हामी साहित्यिक गतिविधिमा निरन्तर क्रियाशील थियौँ । तर हाम्रो अध्ययन र लेखनको दायरा साँघुरो थियो । हुन त साहित्य सन्ध्या पहिलेदेखि नै चलिरहेको थियो । केही वर्ष साहित्य यात्रा र पछिल्लो समय प्रतिभा प्रवाह पनि सुरु भएको थियो । हामी प्रगतिशील साहित्यको खोज र लेखनमा लागेका थियौँ । तर हामीसँग विधागत दक्षता थिएन । न हामीलाई कसैले यस्तो लेख भनेर सिकाउँथ्यो न हाम्रा रचना प्रकाशित हुन्थे ।

गुटगत मानसिकताले यति गाँजेको थियो कि हामी गुटभन्दा बाहिर निस्किन सक्दैनथ्यौँ । एकपल्ट हलकारामा मोदनाथ प्रश्रितको लेख प्रकाशित गरेवापत झन्डै कारवाहीमा पर्नुपरेको थिएन हामी । अहिले त एउटा विचारसमूहको साहित्य अर्को विचारसमूहले नपढ्ने संस्कृति छ भने त्यतिखेरको अवस्था कस्तो हुँदो हो, सहजै अनुमान लगाउन सकिन्छ । आफूइतर पार्टीलाई प्रतिक्रियावादी, शंसोधनवादी र दक्षिणपन्थी मात्र हैन मध्यपन्थीको आरोप लगाइन्थ्यो । एकले अर्कोलाई दुरदुर र छिःछिः गर्ने संस्कृतिको बोलवाला थियो ।

हाम्रा आदर्श भनेका पारिजात, मोदनाथ प्रश्रित, श्यामप्रसाद शर्मा, केवलपुरे किसान, युद्धप्रसाद मिश्रहरू थिए । पारिजातको ‘अनिदो पहाडसँगै’, मोदनाथ प्रश्रितको ‘गोलघरको सन्देश’ र मोहनविक्रम सिंहको ‘झिम्रुक नदी र चिवेचराको कथा’ त्यतिखेर प्रगतिशील फाँटमा अब्बल कृति मानिन्थे ।

म त्यही स्कूलको कवि थिएँ । सङ्घर्ष र सिर्जना सँगसँगै गर्नुपर्ने अवस्था थियो । लेखेका कुरा प्रकाशन गर्ने र पाठकसँग पु¥याउने हुटहुटी सबैलाई हुन्छ । मभित्र पनि त्यही हुटहुटी थियो । साधन स्रोतको सीमितताले गर्दा हामी खुम्चिन बाध्य थियौँ । त्यसैको प्रतिफल थियो आँधी–तुफान ।

आँधी–तुफान कुनै उल्लेख्य कृति हैन । विधागत शिल्प र संरचनामा समेत कमजोर यस सानो कृतिलाई यत्तिकै हराउनु दिन पनि मनले मानेन । कतिपय लेखक साहित्यकारले पहिलेका स्तरहीन रचना र कृतिलाई बिर्सिने र अवमूल्यन गर्ने गर्छन् । त्यसो गर्नु भनेको आफ्नै सन्तानको हत्या गर्नु हो जस्तो लाग्छ मलाई । जुन कृतिले प्रगतिको सोपानमा काँध थापे ती कृतिलाई अवमूल्यन गर्नु उचित हो जस्तो लाग्दैन ।

आँधी–तुफानका मुक्तकहरू कलात्मक दृष्टिले कमजोर भएता पनि तिनीहरू त्यो समयका त्यस्ता साक्षी हुन् जसले त्यतिखेरको इतिहास र मेरो सिर्जनशीलतालाई बोल्छन् । म त्यहीँबाट उठेर यहाँसम्म आएको हुँ । नेपाली प्रगतिशील साहित्यको इतिहास हामी जस्तै अदक्ष र पार्टी प्रतिवद्ध कविलेखकहरूको सङ्घर्षकै कारण यहाँसम्म आइपुगेको हो । त्यसकारण पनि आँधी–तुफानको महत्व कमजोर हुन सक्दैन ।

विष्णु भण्डारी

(२०७४)


  प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १३:१९